बाँके । धानमा गाँज लाग्ने मुख्य समयमा रासायनिक मलको अभाव भएपछि बाँकेका किसान उत्पादन घट्ने चिन्तामा परेका छन् । ढिलो गरी वर्षा भए पनि गत वर्षभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेका किसानले आवश्यक समयमा मल नपाउँदा उत्पादनमा असर पर्ने बताएका छन् ।
खजुरा–२, सीतापुरका किसान भद्रप्रसाद देवकोटाको खेतमा धानमा गाँज लाग्न थालेको छ । यही समयमा मल आवश्यक पर्ने भए पनि बजारमा पर्याप्त मल नपाउँदा उत्पादन घट्ने चिन्ता रहेको उनले बताए ।
उनका अनुसार विगतमा मल अभाव हुँदा भारतको रुपैडिहाबाट दुई–चार बोरा मल ल्याउन पाउँदा केही सहज हुन्थ्यो । तर यसपटक नाकाबाट एक बोरा मलसमेत ल्याउन नदिँदा किसान थप समस्यामा परेको उनले बताए । “हाम्रा लागि अहिलेको सबैभन्दा ठूलो समस्या रासायनिक मल पर्याप्त रूपमा नपाइनु हो,” देवकोटाले भने ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका अधिकांश किसानले मल नपाएको गुनासो गरिरहेका छन् । धान रोप्ने, गाँज लाग्ने र बाला लाग्ने समयमा बालीलाई पर्याप्त पोषण आवश्यक पर्ने भएकाले यी चरणमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने केन्द्रले जनाएको छ ।
केन्द्रकी सूचना अधिकारी सुजिता शर्माले धान रोपेको करिब २० देखि २५ दिनमा गाँज लाग्ने र ५० दिनपछि बाला पसाउने समयमा मलको आवश्यकता बढी हुने बताइन् । “धानमा अनावश्यक झारपातका कारण करिब १५ प्रतिशत उत्पादन घट्न सक्छ, तर मल नपाउँदा ३० देखि ५० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्छ,” उनले भनिन् ।
गत वर्ष बाँकेमा ९९.५ प्रतिशत धान रोपाइँ भएकोमा यस वर्ष ९९.८ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान उत्पादन हुने ३३ हजार ५७० हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको छ । रोपाइँको क्षेत्रफल बढे पनि आवश्यक समयमा मल उपलब्ध हुन नसक्दा उत्पादन प्रभावित हुने जोखिम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष बाँकेमा करिब एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
किसानलाई वितरण गर्ने लक्ष्यअनुसार रासायनिक मल प्राप्त हुन नसक्दा अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको बाँके शाखाबाट चार हजार ८२२ दशमलव ४५० मेट्रिक टन युरिया, दुई हजार ६३३ दशमलव ८०० मेट्रिक टन डिएपी र २०७ दशमलव ७५० मेट्रिक टन पोटास बिक्री भएको थियो ।
चालु आर्थिक वर्ष २०८३/८४ को भदौ १५ गतेसम्म भने एक हजार १७ मेट्रिक टन युरिया, २९९ दशमलव ४०० मेट्रिक टन डिएपी र २७ दशमलव ३५० मेट्रिक टन पोटास स्थानीय तहमा पठाइएको कम्पनीले जनाएको छ ।







