काठमाडौँ, २० भदौ :
म त पर्खेको पर्खै छु
बतास बनी छुन आइदेऊ न
फेरि मेरै हुन आइदेऊ न
बतास बनी छुन आइदेऊ न
फेरि मेरै हुन आइदेऊ न
म त पर्खेको पर्खै छु
म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु …
उक्त हरफहरू नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको विरह रसले भरिएको गीत
‘म त पर्खेको पर्खै छु’ बाट साभार गरिएको हो ।
यस गीतमा प्रेमको गहिरो अनुभूति, बिछोडको अनन्त पीडा र आफ्नो प्रियतम (प्रियसी) लाई पुनः आफ्नो जीवनमा फिर्ता पाउनका लागि गरिएको आत्मिक पुकारलाई व्यक्त गरिएको छ । छोडेर जानेहरूको यादमा पर्खनेहरुको एउटा पीडा बोकेको उक्त गीतको भाव ठ्याक्यै मिल्न गएको छ, काठमाडाँै गोङ्गबुका परिवेश चिलुवालका लागि ।
मायालु र असल श्रीमती अनुष्का पाण्डे । काखमा दुई वर्षको छोरा । गर्भमा हुर्किरहेको अर्को सन्तान । परिवार पूर्ण बन्दै थियो । घरमा खुसीको वातावरण थियो । केही समयपछि परिवारमा नयाँ सदस्य थपिँदै थियो । दोस्रोपटक अभिभावक बन्ने उत्साहले परिवेश र अनुष्काको मनमा अनेकौँ सपना सजिएका थिए । छोराले भाइ वा बहिनी पाउने दिन गन्दै थिए । गर्भमा हुर्किरहेको शिशुको आगमनका लागि परिवार आतुर थियो ।
अब एक महिना मात्र बाँकी थियो । “अब त त्यो दिन पनि चाँडै आए हुन्थ्यो,” दम्पतीबीच यस्तै कुरा हुन्थे । तर यही भदौ १० गते बिहान कसैले कल्पना नगरेको एउटा विपत्ति आयो । सबै सपना एकाएक चकनाचुर पारिदियो ।
जुन घरमा अर्को सदस्यको आगमनको तयारी भइरहेको थियो, त्यही घरबाट अहिले गर्भवती अनुष्का र उहाँको दुई वर्षे छोरा हराइरहेका छन् । प्रतीक्षा पहिलेको जस्तो छैन । पहिलेको प्रतीक्षा खुसीको थियो । अहिलेको प्रतीक्षा पीडाको छ । पहिले पेटमा हुर्किरहेको सन्तानलाई काखमा लिने दिनको प्रतीक्षा थियो । अहिले हराएकी जीवनसङ्गिनी र छोरा फर्केर आउने आशाको प्रतीक्षा छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले अनुष्कालाई परिवारबाट टाढा बनाइदियो । एकैछिनमा परिवेशको संसार फेरियो । श्रीमतीसँगै सजाएका सपना नदीको भेलसँगै बगेझैँ भए । दुई वर्षको छोरा पनि अनुष्कासँगै बगेँ । संसार राम्रोसँग चिन्न बाँकी नै थियो । अझ पेटमा हुर्किरहेको शिशुले संसार देख्नै पाएको थिएन ।
रसुवाको टिमुरे स्वास्थ्यचौकीमा कार्यरत हुनुहुन्थ्यो अनुष्का । श्रीमान् परिवेश भने केही दिनअघि मात्रै काठमाडौँ फर्किनुभएको थियो । अनुष्काको पनि केही दिनपछि काठमाडौँ आउने तयारी थियो ।
बाढी आएको दिनदेखि नाबालक छोरासहित सम्पर्कविहीन हुनुहुन्छ । दुर्गममा अरुको स्वास्थ्यमा खटिएर जीवन जोगाउन लाग्ने अनुष्काको जीवन जोगिएको छ कि छैन पत्तो छैन । कतै घाइते भएर बस्नुभएको पो छ भन्ने झल्को परिवारलाई आउँछ । घटना भएको अघिल्लो रात परिवेश र अनुष्काबीच कुराकानी भएको थियो । त्यो दिन बिहान भने कुरा हुन पाएन ।
भदौ १० गते बिहानीपख रसुवामा ठूलो बाढी आयो भन्ने खबर पाउनुभयो परिवेशले । मोबाइलमा भिडियोहरू पनि आउन थाले । दर्दनाक दृश्यले मन झस्कायो । श्रीमती र बच्चाको के हालत होला भाग्न सक्नुभयो कि भएन होला ? मन भतभती पोल्यो । पटकपटक श्रीमतीलाई फोन गर्दा सम्पर्क भएन । कता होलिन् ? यत्रो विपत्तिमा भाग्न भ्याएकी होलिन् कि भ्याइनन् होलिन् ? विचरा आठ महिनाको गर्भको शिशु दुई वर्षे बच्चा बोकेर कसरी दौडिन् होलिन् ? आफ्नो प्राणभन्दा प्यारो बच्चालाई जोगाउन कति प्रयास गरेकी होलिन् ? यी र यस्तै प्रश्नको घेरामा थियो उहाँको मन पनि ।
घण्टा बित्तै गयो । दिन पनि बित्न लाग्यो । घाम अस्ताएर साँझ पर्ने तर्खर ग¥यो । रात प¥यो । बाहिर अँध्यारो बढ्दै थियो तर परिवेशको मनमा अनिश्चितताको अँध्यारो झन बाक्लिँदै गयो । न श्रीमतीको फोन आउँछ न उहाँको खबर ।
मनमा झन चिसो पस्यो । परिवेश भने श्रीमती अनुष्काको एक कल म ठीक छु भन्ने आवाज सुन्न आतुर हुनुहुन्थ्यो । घरिघरि मोबाइल हेर्नुहुन्थ्यो । कसैको फोन आए पनि अनुष्काकै हो कि भन्ने झल्को लाग्थ्यो । रात पनि बित्यो । भोलिपल्टको बिहानी सुरू भयो । अझै खबर आएन । मन अतालिन थाल्यो ।
आमा, छोरा कतै कुनै अस्पतालमा उपचारत छन् कि भन्दै खोजी हुन थाल्यो । पत्तो पाइएन । दिन बित्दै गए । साता दिन नाग्यो । न फोन आयो । न अनुष्का आउनुभयो । न सास भेटियो न लास भेटियो । न फर्कने पूर्ण आश छ । न पूर्ण रूपमा आश मार्न सकिएको छ । “छोरा डोहोराउँदै अनुष्का अझै आउछिन् होला । छोराले बाबा भनी बोलाउँछ होला भन्ने अझ आशा लागेर कुरिरहेकै छु । फर्केर उनी आएकी छैनन्,” परिवेश भन्नुहुन्छ, “घटना हुनु अघिल्लो रातको जस्तै हरेक रातमा लाग्छ–अनुष्काको फोन आउँछ र भन्छिन्, समयमा नै सुत्नु बुढा भोलि कुरा गराँैला । ‘गुड नाइट । टेक केयर ।’ झल्को लाग्छ । तर फोन आउँदैन ।” एकैछिन फोन नउठ्दा के भयो होला ? भनेर अत्तालिने परिवेश । अहिले त साता दिनसम्म कुरा नहुँदा छटपटीमै समय बितिरहेको छ । यस्सो लड्दा अइया बाबा… बाबा भन्ने छोरा । ढुङ्गा माटो, चट्यानसहित भेलमा बग्दै गर्दा कति ठोक्कियो होला । अइया बाबा… पनि भन्न पाएन होला ।
अग्निलाई साक्षी राखेर जुनीजुनीसँगै जीउने मर्ने कसम खाएर बिहे बन्धनमा बाधिएको यो जोडी अब सधैँका लागि छुट्टिएका हुन् या कुनै आश्चर्य भएर अनुष्का फर्केर आउने छिन् त्यो भने पत्ता छैन ।
परिवेशको घरमा अनुष्काको सम्झना ताजा छ । उहाँले लगाएका कपडा, प्रयोग गरेका सामान र घरका कुनाकाप्चामा रहेका उहाँका सम्झनाले हरेक क्षण परिवेशलाई झस्काइरहन्छन् । परिवेश अझै आशावादी हुनुहुन्छ, सायद कुनै दिन ढोकामा अनुष्का उभिएर भन्नेछिन्ः “म आएँ नि ।” त्यही एउटा आशाले परिवेशलाई पर्खाइरहेको छ । परिवेशको प्रतीक्षा रोकिएको छैन । उहाँको मनमा अझै एउटा विश्वास बाँकी छ–अनुष्का फर्केर आउन सक्छिन् ।
बतास बनी छुन आइदेऊ न,
फेरि मेरै हुन आइदेऊ न…
गीतकारले “यस हरफमा प्रेमीको निस्वार्थ र पवित्र पर्खाइ बसिरहेको कुरालाई स्पष्ट पारेका छन् । गीतमा मायालुले छोडेर गए पनि प्रेमीको मनमा उसको उपस्थितिको तिर्सना मेटिएको छैन । यस्तै भएको छ परिवेशका लागि पनि । गीतकारले भनेझँै परिवेशलाई पनि लाग्दो हो– अनुष्का तिमी आफ्नै रूपमा आउन सक्दैनौँ भने पनि कमसेकम ‘बतास’ (हावाको झोक्का) बनेर भए पनि आउ र मलाई स्पर्श गरेर जाउ, ताकि म तिम्रो सामीप्यता महसुस गर्न सकूँ । समय बित्दै जाँदा मधुरो बन्दै गएको आशाको दियो, निम्न लागिसक्यो । पत्तो छैन अझै ।
जब जब मलाई उज्यालोको आश लाग्छ
आमा यो टुकीमा किन बतास लाग्छ ?
गलकार प्रदीप रोदनले बहिनी अनुष्का र अन्य बाढीमा बेपत्ता भएर सासको आशामा बस्नेहरुलाई इङ्गित गरेजस्तै भएको छ ।
“अनुष्का नानु, दुई वर्षको बच्चा काखमा र आठ महिनाको शिशु कोखमा लिएर कसरी दौडियौँ होला । कहाँ छौँ तिमी ? बा हरू खोज्न निस्कनुभएको छ । एक आवाज देउ ल ? गलकार प्रदीपले अनुष्कालाई इङ्कित गर्दै केही दिनअघि लेख्नुभएको यो ‘स्टाटस’ले जो कोहीलाई पनि भावुक बनाउँछ ।
भोटेकोशी बाढीजस्ता विपद्मा गर्भवती महिलाजस्ता अन्य अशक्त व्यक्ति बढी प्रभावित हुने गरेका छन् । बाढीको सूचना पाएपछि त्यस दिन नुवाकोटको त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटीले पनि सात महिनाको गर्व बोकेर बल्लतल्ल भागेर ज्यान जोगाउनुभयो । तर गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा पाउन र नियमित स्वास्थ्य परीक्षण गर्न तथा चिकित्सकले सुझाएअनुसारको पोसिलो खानेकुरा खान पाउनुभएको छैन ।
विपद्बाट सबैभन्दा बढी गर्भवती महिला जोखिममाः चिकित्सक
भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्का समयमा गर्भवती महिला र गर्भमा रहेको शिशु बढी जोखिममा पर्ने बताउनुहुन्छ निजामती कर्मचारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा अरुणप्रसाद जोशी । “विपद्का बेला अरु साधारण व्यक्तिजस्तै गर्भवती महिला सुरक्षित स्थानतर्फ भाग्न सक्दैनन् । भोटेकोशी बाढीको समयमा पनि तत्काल भाग्न नसक्दा कतिपय गर्ववती आमालाई भेलले बगायो । कतिपय अझै बेपत्ता त कति अझै घाइते हुनुहुन्छ,” उहाँ भन्नुहुन्छ, “बाढीबाट जोगिन भाग्ने क्रममा अत्यधिक शारीरिक परिश्रम र चोटपटकका कारण रक्तस्राव हुने तथा गर्भ खेर जाने समस्या पनि देखिन सक्छ ।”
डा जोशीले बाढी गएको एक साताभन्दा बढी भइसकेको र कतिपय शव अझै व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा सङ्क्रमण तथा महामारीको जोखिमसमेत बढाउनसक्ने बताउनुभयो । यस्तो अवस्थामा गर्भवती महिलामा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
“भोटेकोशी बाढीबाट बाच्न सफल हुने गर्भवतीका लागि नियमित खाना खान, आराम गर्न र स्वास्थ्य परीक्षण गराउन कठिन भइरहेको छ । यस्तो अवस्थामा घटनाले मानसिक तनावसमेत बढाउन सक्छ,” उहाँले भन्नुभयो, “सडक तथा यातायात प्रभावित हुँदा प्रभावित क्षेत्रका कतिपय गर्भवती महिला समयमै स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउन पाइरहेका हुँदैनन् ।”
यस्तो अवस्थामा गर्भवती महिलाको योनीबाट रक्तस्राव भएमा, पानी गएमा वा बच्चा नचलेमा तत्काल स्वास्थ्य संस्था वा अस्पताल पु¥याउनुपर्नेमा जोड दिनुहुन्छ, डा जोशी । “यस्तो अवस्थामा राज्यले पनि प्रभावित गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न आवश्यक सहजीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो । डा जोशीले विपद्पछि गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषण, आराम र मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिँदै आमा र बच्चाको सुरक्षाका लागि राज्यले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
विपद्मा गर्भवती तथा अन्य असहायलाई बढी प्रथामिकता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य असहाय नागरिकलाई भोटेकोशी बाढीजस्ता विपद्का समयमा उच्च प्राथमिकता दिइएको बताउनुभएको छ ।
उहाँले विपद्को पूर्वसूचना सम्प्रेषणदेखि खोज तथा उद्धार, राहत, स्वास्थ्य उपचारलगायत सेवामा जोखिममा रहेका तथा विशेष सहयोग आवश्यक पर्ने नागरिकलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिक कार्ययोजना, २०८१ अनुसार असहाय, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिएका छौँ । अपाङ्गतामैत्री विपद् पूर्वसूचना सम्प्रेषण पनि गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
प्रवक्ता महतले भोटेकोशी बाढीप्रभावित गर्भवती तथा अन्य असहाय व्यक्तिलाई स्वास्थ्य सेवा तथा आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो । “अझै थप छलफल गरेर प्रभावितलाई कसरी सहज रूपमा सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।







