भदौ २३–२४ को घटनालाई रवीन्द्र मिश्रले दिए ‘विदेशी–जासुसी विद्रोह’को संज्ञा

काठमाडौँ । राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई ‘विदेशी–जासुसी विद्रोह’को संज्ञा दिएका छन्।

आन्दोलनको वर्षगाँठका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मिश्रले उक्त घटनामा सहभागी युवाहरूलाई विद्रोहको नेतृत्व कसले गरिरहेको थियो र आन्दोलन कुन दिशामा अघि बढिरहेको थियो भन्नेबारे जानकारी नभएको दाबी गरेका छन्।

उनले अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा संस्थाहरूले नेपाली युवाहरूको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिना प्रयोग गरेर ‘जासुसी विद्रोह’ सम्पन्न गरेको आरोप लगाएका छन्।

भदौ २३ र २४ गतेको घटनामा करिब ६ घण्टाको अवधिमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख संरचनाका साथै राष्ट्रप्रमुखको निवासमा आगजनी भएको थियो। यस्तो घटना विश्वमै विरलै भएको उनको दाबी छ।

उनले भदौ २३ र २४ को घटनाबारे तयार पारिएका प्रतिवेदन कार्यान्वयन गर्न राज्य इच्छुक नरहेको आरोपसमेत लगाएका छन्।
विभिन्न जासुसी चलचित्र हेरेपछि, विश्वका विद्रोहसम्बन्धी अध्ययन र लामो विचारपछि आफूले भदौ २३ र २४ को घटनालाई संसारकै सबैभन्दा सफलमध्येको ‘विदेशी–जासुसी विद्रोह’का रूपमा व्याख्या गर्ने निष्कर्षमा पुगेको मिश्रले बताएका छन्।

घटनाका योजनाकारहरू आफ्नो लक्ष्यमा सफल भए वा अझै पनि आफ्नो मिशनमा सक्रिय छन् भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताएका छन्। भविष्यमा भदौ २३ र २४ का योजनाकार, योजना र कार्यान्वयनसँग सम्बन्धित गोप्य सूचना सार्वजनिक भए त्यसमा आधारित चलचित्र बने संसारकै उत्कृष्ट जासुसी चलचित्रमध्ये एक बन्न सक्ने उनको दाबी छ।

मिश्रले नेपालले आफ्नो दीर्घकालीन हित सुनिश्चित गर्न भदौ २३ र २४ को घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्। नेपालको आन्तरिक तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि ‘नवीन समझदारी’मा जानुपर्ने उनको भनाइ छ।
अन्यथा भविष्यमा भदौ २३ र २४ भन्दा गम्भीर संकट आउन सक्ने र त्यस्तो अवस्थामा नेपालका आन्तरिक शक्तिले मात्रै त्यसलाई सम्हाल्न नसक्ने मिश्रले चेतावनी दिएका छन्।

उनले भदौ २३ र २४ गते ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो पुस्ताले देशलाई यस्तो अवस्थामा पुर्याएको भन्दै गहिरो दोषभावसमेत व्यक्त गरेका छन्। मिश्रले प्रकाश बोहोराको रगतले लतपतिएको सेतो जुत्ता भदौ २३ र २४ को आन्दोलनको प्रतीक बनेको उल्लेख गर्दै बोहोरालाई सिंहदरबारलगायतका भवन कसरी जलाइयो भन्नेबारे अझै जानकारी नभएको दाबी गरेका छन्।