मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम – मधेस प्रदेश सरकारले वन अतिक्रमण नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। प्रदेशका विभिन्न जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा १५४ दशमलव ५५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय, जनकपुरधामले जनाएको छ।

वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार अतिक्रमणमुक्त गराइएको क्षेत्रफलमध्ये सबैभन्दा धेरै पर्सामा १२० हेक्टर रहेको छ। त्यस्तै बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा ३ दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको हो।

वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर ती स्थानलाई पुनः वन संरक्षण तथा व्यवस्थापनको दायरामा ल्याइएको चौधरीले बताए। उनका अनुसार अतिक्रमण नियन्त्रणसँगै वन चोरी तथा तस्करी नियन्त्रण र वन संरक्षणका गतिविधिलाई समेत प्रभावकारी बनाइएको छ।

३२ लाखभन्दा बढी बिरुवा उत्पादन

वन संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि प्रदेशका विभिन्न जिल्लामा गत आर्थिक वर्षमा ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरिएको छ। ती बिरुवा प्रयोग गरी २६१ दशमलव ७७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको निर्देशनालयले जनाएको छ।

जिल्लागत रूपमा सर्लाहीमा सबैभन्दा धेरै ८ लाख ६३ हजार ९७० बिरुवा उत्पादन गरिएको छ। सप्तरीमा पाँच लाख तीन हजार ६४०, सिरहामा चार लाख १५ हजार, धनुषामा चार लाख तीन हजार, महोत्तरीमा दुई लाख २० हजार, बारामा चार लाख ३४ हजार २०० र पर्सामा चार लाख बिरुवा उत्पादन गरिएको हो।

वृक्षरोपणतर्फ सप्तरीमा ९५ हेक्टर, धनुषामा ६६ दशमलव ५ हेक्टर, बारामा ४३ दशमलव ५३ हेक्टर, सिरहामा २६ हेक्टर, महोत्तरीमा २० हेक्टर, सर्लाहीमा आठ दशमलव ५ हेक्टर र पर्सामा दुई दशमलव २४ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको चौधरीले जानकारी दिए।

६ लाख ६५ हजार घनफिटभन्दा बढी काठ उत्पादन

चालु आर्थिक वर्षमा मधेस प्रदेशका वन क्षेत्रबाट हालसम्म ६ लाख ६५ हजार २७३ दशमलव २६ घनफिट काठ उत्पादन भएको छ। यसमध्ये सबैभन्दा बढी सर्लाहीमा ३ लाख ५१ हजार ७५९ दशमलव ५ घनफिट काठ उत्पादन भएको छ।

त्यस्तै सप्तरीमा ६५ हजार २९ दशमलव ४९, सिरहामा ६७ हजार ८७६ दशमलव ६७, धनुषामा सात हजार ६२३ दशमलव ७२, महोत्तरीमा ७८ हजार ५१६ दशमलव ९८ र बारामा ९४ हजार ४६६ दशमलव ९ घनफिट काठ उत्पादन भएको निर्देशनालयले जनाएको छ।

सोही अवधिमा विभिन्न जिल्लामा एक हजार २५६ चट्टा दाउरा उत्पादन भएको छ। सप्तरीमा ३५ दशमलव ३६, सिरहामा २२ दशमलव ५७, धनुषामा सात दशमलव ३८, महोत्तरीमा १९६ दशमलव ८९, सर्लाहीमा ७५१ दशमलव ९५ र बारामा २४२ चट्टा दाउरा उत्पादन भएको जनाइएको छ।

वन पैदावार बिक्री वितरणतर्फ हालसम्म ५ लाख ३ हजार ७९९ दशमलव २७ घनफिट काठ बिक्री भएको छ। काठ तथा दाउरा बिक्री, वन पैदावारको उपयोग र अन्य वनजन्य गतिविधिबाट प्रदेश सरकारले हालसम्म ५ करोड ८५ लाख ५० हजार १९० रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी चौधरीले बताए।

वन निर्देशनालयका निर्देशक सुभाषचन्द्र दासले वन कर्मचारीको सक्रियताका कारण अतिक्रमण नियन्त्रण तथा वन चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएको बताए। उनका अनुसार वन संरक्षणसँगै अतिक्रमण नियन्त्रण, वृक्षरोपण र वन पैदावारको व्यवस्थित उपयोगलाई प्राथमिकतामा राखिएको छ।