बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

रसुवा । भदौ १० गते आएको विनाशकारी बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । हिमाली क्षेत्रबाट अचानक उर्लिएको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधार तहसनहस बनायो । नेपाल–चीन सीमास्थित केरुङ नाकासमेत बाढीको चपेटामा पर्‍यो ।

बाढीमा परी ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक सम्पर्कविहीन भए । बाढीपछि सडक र पुलहरू बग्दा प्रभावित क्षेत्रसँगको यातायात सम्पर्क टुटेको थियो । यस्तो विषम परिस्थितिमा प्रभावित नागरिकको उद्धारका लागि हेलिकप्टर नै प्रमुख माध्यम बनेको थियो ।

यही कठिन परिस्थितिबीच हेलिकप्टर चालक क्याप्टेन प्रिया अधिकारी रसुवाको उद्धार अभियानमा निरन्तर खटिइन् । प्रतिकूल मौसम, बाक्लो कुहिरो, तीव्र हावा र भौगोलिक जोखिमका बाबजुद उनले प्रभावित क्षेत्रमा उद्धार उडान जारी राखिन् ।

उद्धारका क्रममा रसुवाका अस्थायी हेलिप्याडमा पुग्दा उनले घाइते, वृद्धवृद्धा, बालबालिका तथा आफन्त गुमाएका नागरिकको पीडादायी अवस्था प्रत्यक्ष देखिन् । हेलिकप्टर अवतरण गरेपछि उनी ककपिटमै सीमित नभई घाइतेलाई सुरक्षित स्थानसम्म पुर्‍याउन र बालबालिकालाई हेलिकप्टरमा चढाउनसमेत आफैँ खटिने गर्थिन् ।

क्याप्टेन अधिकारीका अनुसार उद्धार उडानका क्रममा खराब मौसम र जोखिमको भन्दा पनि उद्धारको प्रतीक्षामा रहेका नागरिकको अनुहारले आफूलाई बढी प्रेरित गर्ने गरेको छ । प्रभावित नागरिकलाई समयमै सुरक्षित स्थानमा पुर्‍याउन सक्नु नै आफ्नो उडानको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ ।

बाढीपछि रसुवा पुगेकी अधिकारीको दैनिकी नै उद्धार उडानमा केन्द्रित रह्यो । उनले यस अवधिमा १०० भन्दा बढी उद्धार उडान गरेकी छन् । विशेषगरी टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकको उद्धारमा उनको हेलिकप्टर निरन्तर परिचालित भयो ।

मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारीले विपद्को समयमा देखाएको साहस र समर्पणले उद्धार अभियानमा महिला नेतृत्वको उदाहरणसमेत प्रस्तुत गरेको छ ।

रसुवाको बाढीले भौतिक संरचना मात्र तहसनहस बनाएन, हजारौँ परिवारलाई पीडामा धकेल्यो । त्यही विपत्तिका बीच जोखिम मोलेर प्रभावितको जीवन जोगाउन खटिएका क्याप्टेन अधिकारीजस्ता उद्धारकर्मीको योगदान भने मानवीय साहस र सेवाको प्रेरणादायी उदाहरण बनेको छ।