कात्तिक ३, सांखुवासभा ।
खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यावसायिक र आधुनिक बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ आधुनिक हलो वितरण गरेको हो ।
श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।
आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको शुरुआत गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारी नगर प्रमुख खतिवडाको भनाइ छ ।
किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्न नगर प्रमुखले खतिवडाले आग्रह गरेका छन् ।
प्रतिहलो ६३ हजार दुई सय ५० मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । नगरपालिकाका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलका अनुसार किसानको ५० प्रतिशत लगानीमा नगरभित्र २८ मिनीटिलर वितरण गरिएको हो ।
एक करोड ७७ लाख एक हजार मूल्य बराबरका टिलर वितरण गरिएका छन् । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको हो । वडामा दुई–दुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६ वटा वडामा एकएक थप गरेर टिलर वितरण गरेको नगरले जनाएको छ । नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ । (रासस)







