यूएईबाट आए १ सय ६८ जना नेपाली (तस्बिर सहित)

२३ जेठ, काठमाडौं । नेपाल सरकारले आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । सरकारले युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्काएको हो ।

उनीहरु एयर अरेबियाको एविवाई¬–१७५१ नम्बरको जहाजमार्फत आज साँझ ६ः०० बजे काठमाडौँ अवतरण गरे । जहाजमा एउटा शवसमेत ल्याइएको छ ।

उनीहरु सबैलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको छ । सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ ।

उद्धार गरिएका सबैलाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि तोकिएका ‘होल्डिङ सेन्टर’ मा नेपाली सेनाको जिम्मा लगाइ पठाइएको थियो ।

त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा पठाइन्छ । होल्डिङ सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

तस्बिरहरु: रासस / हाम्रो पत्रीका