काठमाडौं । आसिफ शेखको शतक तथा गुल्शन झाको आक्रामक अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध बलियो योगफल खडा गरेको छ।
वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाए। यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको दोस्रो शतक हो।
त्यस्तै, गुल्शन झाले केवल ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको आक्रामक इनिङ खेले। अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए।
आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङलाई मजबुत सुरुवात दिलाएका थिए। त्यसपछि उनले इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे।
यूएईका लागि इबरार अहमदले सर्वाधिक ४ विकेट लिए। खुजाइमा बिन तनभिरले २ विकेट लिँदा हैदर अली र अदीब उसमानीले समान १–१ विकेट हात पारे।






