कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो सरकारी तथ्यांकअनुसार देशमा इबोला संक्रमितको संख्या ७ हजार नाघेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३९८ पुगेको छ।
शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा इबोला संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १ हजार ६७१ जना उपचारपछि निको भएका छन्।
तथ्यांकअनुसार संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ। इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ।
स्थानीय अधिकारीका अनुसार सुद–उबाङ्गी प्रान्तमा पनि एक जनामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र पछिल्लो प्रभावित प्रान्त बनेको हो। दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो। संक्रमित ती पुरुषको पछि मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
सुद–उबाङ्गी यसअघि संक्रमण पुष्टि भएका छवटा प्रान्तसँग सीमा जोडिएको छैन। ती प्रान्तमा इतुरी, उत्तर किभु, दक्षिण किभु, हाउट–उएले, चोपो र बास–उएले रहेका छन्।
गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ।






