इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएपछि साउदी अरबले आफ्नो रणनीतिक रूपमा महत्त्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन (इस्ट–वेस्ट पाइपलाइन) अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ।

इराकबाट सञ्चालित इरान समर्थित लडाकुहरूले हवाई ड्रोनमार्फत आक्रमण गरी पाइपलाइनका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि सुरक्षाका कारण पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। विश्वकै प्रमुख कच्चा तेल निर्यातकर्ता साउदी अरबले गरेको यो निर्णयले यसअघि नै उच्च रहेको अन्तर्राष्ट्रिय ऊर्जा बजारको मूल्य थप बढ्न सक्ने चिन्ता बढाएको छ।

करिब १ हजार २ सय किलोमिटर लामो उक्त पाइपलाइन साउदी अरबका लागि अत्यन्त रणनीतिक मानिन्छ। अमेरिका र इरानबीच लामो समयदेखि जारी युद्धका कारण स्ट्रेट अफ हर्मुजमा समुद्री यातायात लगभग ठप्प भएपछि साउदी अरबले हर्मुज जलडमरू पार नगरी तेल निर्यात गर्न यही पाइपलाइनको प्रयोग गर्दै आएको थियो।

पछिल्ला महिनाहरूमा उक्त पाइपलाइनमार्फत दैनिक ४० देखि ५० लाख ब्यारेलसम्म तेल आपूर्ति हुँदै आएको बताइएको छ। पाइपलाइन बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिमा ४ देखि ५ प्रतिशतसम्म कमी आउन सक्ने आकलन गरिएको छ। मदिना क्षेत्रनजिकै पाइपलाइनमा भएको आक्रमणपछि ठूलो मात्रामा कालो धूँवाको मुस्लो देखिएको तस्बिरहरू भूउपग्रहबाट सार्वजनिक भएका छन्।

साउदी विदेश मन्त्रालयका अनुसार आक्रमणबाट केही मानिस घाइते भएका छन् भने घटनाबाट भएको क्षतिको विस्तृत मूल्यांकन भइरहेको छ।

यसैबीच, साउदी प्रायद्वीपको अर्को छेउमा यमनका इरान समर्थित हुथी विद्रोहीहरूले पनि लाल सागर क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको बताइएको छ। हुथीहरूले बाब अल–मन्देब जलडमरूको मुखमा रहेको रणनीतिक महत्त्वको पेरिम द्वीप कब्जा गरेपछि क्षेत्रीय ऊर्जा संकट थप गहिरिएको छ। त्यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत परेको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको बताइएको छ।

इरानको रिभलुसनरी गार्डको प्रत्यक्ष निर्देशन र सहयोगमा हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण तीव्र पारेको विभिन्न प्रतिवेदनमा उल्लेख छ। लगातारका आक्रमणका कारण साउदी अरबको कच्चा तेल आपूर्ति पछिल्लो तीन दशकयताकै न्यून स्तरमा झरेको दाबी गरिएको छ।

दुवै दिशाबाट बढेको सैन्य तनावले मध्यपूर्वमा व्यापक युद्धको जोखिम थप बढाएको छ। घटनापछि इराकी प्रधानमन्त्रीको आग्रहमा साउदी अरबले तत्काल सैन्य जवाफी कारबाही नगरे पनि आफ्नो राष्ट्रिय सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।

यता, इराकले पनि आक्रमणको निन्दा गर्दै इरानसँग जोडिएको सीमावर्ती क्षेत्रमा तैनाथ एक सैन्य कमान्डरलाई बर्खास्त गरेको छ। साथै घटनाको अनुसन्धानलाई तीव्र पारिएको जनाएको छ।

क्षेत्रीय संकट गहिरिँदै गएपछि साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्दै हुथीविरुद्ध सैन्य सहयोगको आग्रह गरेको बताइएको छ। तर अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुन अस्वीकार गर्दै गुप्तचर सूचना र लक्षित निगरानीमा मात्र सहयोग गर्ने संकेत दिएको छ।