काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका ब्याटर रोहित पौडेलसहित यूएईका दुई खेलाडीलाई कारबाही गरेको छ ।
आईसीसीका अनुसार रोहित पौडेल र यूएईका अदीब उसमानीलाई लेभल–१ को उल्लंघनमा खेल शुल्कको १५ प्रतिशत जरिवाना गरिएको छ । नेपालले ब्याटिङ गरिरहेको ३१औँ ओभरमा दुवै खेलाडीबीच मैदानमै विवाद भएपछि स्थिति नियन्त्रणमा लिन खोजेका अम्पायरको निर्देशन पालना नगरेको ठहर उनीहरूमाथि गरिएको हो ।
त्यस्तै, यूएईका खुजाइमा तनवीरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । यूएईको इनिङ्सको ४६औँ ओभरमा आउट भएपछि उनले ब्याटले स्टम्पमा प्रहार गरेका थिए ।
आईसीसीले तीनै खेलाडीको अनुशासन अभिलेखमा एक–एक डिमेरिट अंकसमेत थपेको छ । पछिल्लो २४ महिनामा उनीहरूको यो पहिलो आचारसंहिता उल्लंघन भएकाले थप निलम्बनको सजाय भने दिइएको छैन ।
आईसीसीका अनुसार तीनै खेलाडीले आफूमाथिको आरोप स्वीकार गर्दै प्रस्तावित सजायसमेत स्वीकार गरेपछि यस विषयमा औपचारिक सुनुवाइ गर्नुपरेन।





