भोजपुर । हतुवागढी गाउँपालिकाले लोप हुँदै गएको भेडापालन व्यवसायको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय किसानलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन थालेको छ ।
पछिल्लो समय भेडापालन व्यवसाय क्रमशः घट्दै गएपछि गाउँपालिकाले अनुदानमार्फत किसानलाई यसतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले भेडापालनको संरक्षणसँगै किसानको आयआर्जन बढाउने उद्देश्यले प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।
भेडापालन प्रवर्द्धनका लागि गाउँपालिकाले वडा नं. ३ मा ‘थुलुङ गाउँ कृषि तथा भेडापालन’ समूहलाई रु दुई लाख ७० हजार अनुदान उपलब्ध गराएको छ । समूहले २५ प्रतिशत लागत साझेदारी गरेको छ ।
स्थानीय भेडापालक किसान राजेश थुलुङले हराउँदै गएको भेडापालनलाई निरन्तरता दिन गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको बताए । उनका अनुसार पालिकाको सहयोगपछि वडा नं. ३ का १२ जना भेडापालक किसान समूह गठन गरेर व्यवसाय संरक्षण तथा विस्तारमा जुटेका छन् ।
“पालिकाको सहयोगले हामीलाई ठूलो ऊर्जा मिलेको छ,” उनले भने, “अहिले १२ जना भेडापालक किसान मिलेर समूह गठन गरी व्यवसायको संरक्षण र विस्तारमा लागेका छौँ ।”
कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गत आर्थिक वर्षमा भेडापालन प्रवर्द्धन कार्यक्रम परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । परीक्षणको नतिजा सकारात्मक आएपछि चालु आर्थिक वर्षमा बजेट बढाएर कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
उनका अनुसार चालु आर्थिक वर्षमा भेडापालन प्रवर्द्धनका लागि गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ ।
हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले किसानको आयआर्जन बढाउन भेडापालनसँगै अन्य पशुपालन व्यवसायलाई पनि प्राथमिकता दिइएको बताए । वडामा बाख्रा तथा बङ्गुरपालनमा संलग्न किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय मौलिक तथा परम्परागत पेसाको संरक्षण गर्दै किसानको जीवनस्तर सुधार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।
उत्पादन तथा पशुपालनमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि प्रवर्द्धनात्मक कार्यक्रमलाई थप व्यवस्थित गर्दै यसको क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए।






