काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–ख्योङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनःस्थापना तथा राहत सहयोगका विषयमा छलफल भएको छ । साथै सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपालमा विपद् उत्पन्न भएका बेला कोरियाले गरेको सहयोग र व्यक्त गरेको सहानुभूतिप्रति आभार व्यक्त गरे । उनले उद्धार तथा खोजीका लागि कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकोमा धन्यवाद दिँदै बाढी प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरे ।
नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा पनि मन्त्री तिमिल्सिनाले जोड दिए ।
भेटमा राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए । उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो राखेका थिए ।
राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ । तर, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।
राजदूत पार्कले आगामी असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आइसिटी लिडरसिप फोरम’मा नेपालसहित विभिन्न देशको सहभागिताबारे पनि मन्त्री तिमिल्सिनालाई जानकारी गराए ।
दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य तथा आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने बताइएको छ । रासस






