दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि यी तीन वस्तुमा आत्मनिर्भर रहेको जिल्लामा माछाको उत्पादन भने मागअनुसार पुग्न सकेको छैन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार जिल्लामा माछाको उत्पादन अझै अपुग छ ।
केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको छ ।
त्यस्तै, प्रतिव्यक्ति वार्षिक १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी उपलब्ध रहेको छ । अण्डाको हकमा प्रतिव्यक्ति ४८ गोटा आवश्यक पर्नेमा ८१ गोटा उपलब्ध रहेको ठकुरीले जानकारी दिए । यसअनुसार जिल्लामा प्रतिव्यक्ति वार्षिक आवश्यकताभन्दा २४.५४ लिटर दूध, ०.२ केजी मासु र ३३ गोटा अण्डा बढी उत्पादन भइरहेको छ ।
माछामा भने प्रतिव्यक्ति वार्षिक सात केजी आवश्यक पर्नेमा ०.२७ केजी मात्रै उपलब्ध छ । यसले गर्दा प्रतिव्यक्ति ६.७३ केजी माछा अपुग रहेको ठकुरीले बताए ।
उनका अनुसार तनहुँमा कुल ७८ हजार ३०९ परिवार रहेकामा ४९ हजार ६४० परिवार पशुपालनमा निर्भर छन् ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७६ हजार १२१ मेट्रिक टन दूध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७४ हजार ७५१ मेट्रिक टन दूध उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष दूध उत्पादन एक हजार ३६९ मेट्रिक टनले बढेको छ ।
दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन दिने नीतिका कारण कृषक पशुपालनतर्फ आकर्षित भएको ठकुरीको भनाइ छ ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा चार हजार ७८१.३ मेट्रिक टन मासु उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा चार हजार ९९८.१९ मेट्रिक टन मासु उत्पादन भएको थियो । यस वर्ष राँगा, भैँसी, खसीबोका तथा सुँगुर–बङ्गुरको मासु उत्पादन घटेको भए पनि कुखुराको उत्पादन बढेको ठकुरीले बताए ।
माछाको उत्पादन भने बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा ११३ मेट्रिक टन माछा उत्पादन भएकामा आर्थिक वर्ष २०८२/८३ मा बढेर १६४ मेट्रिक टन पुगेको छ । यद्यपि, उत्पादन वृद्धि भए पनि जिल्लाको माछाको माग पूरा हुन सकेको छैन ।
पशुपन्छीपालनतर्फ गाईको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४९ हजार ७४२ गाई रहेकामा आर्थिक वर्ष २०८२/८३ मा बढेर ४९ हजार ९१२ पुगेका छन् ।
त्यस्तै, भैँसीको सङ्ख्या अघिल्लो आर्थिक वर्षको ५३ हजार ३८३ बाट घटेर यस वर्ष ५१ हजार २३५ पुगेको छ । बाख्राको सङ्ख्या पनि तीन लाख ८८ हजार १७६ बाट घटेर तीन लाख ७४ हजार ७६५ मा झरेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नौ लाख ९८ हजार ९३६ कुखुरा रहेकामा आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या घटेर नौ लाख ९७ हजार ७६५ पुगेको छ । जिल्लामा गाई, हाँस तथा खरायोपालन गर्नेको सङ्ख्यामा भने वृद्धि भएको जनाइएको छ ।






