काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको आगामी समीक्षा समाजका पिँधमा रहेका तथा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधानलाई जीवन्त दस्तावेजका रूपमा व्याख्या गर्दै राजनीतिक अभ्यास र अनुभवका आधारमा यसको परिमार्जन तथा संशोधन गर्न सकिने बताएका हुन्।
‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ,’ उनले सन्देशमा भनेका छन्, ‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।’
उनले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। यद्यपि, नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ।
लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता त्यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनमा अनुभूत हुन सकेपछि मात्र स्थापित हुने उनले बताएका छन्।
लामिछानेले रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि स्पष्ट पारेका छन्।
विद्यमान बेथिति र कमजोरीहरू सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप सुदृढ बनाउने गरी विवेकपूर्ण बहस गर्न संविधान दिवस उपयुक्त अवसर भएको उनको भनाइ छ।
बलियो राज्य निर्माणका लागि बलिया संस्थाहरू आवश्यक पर्ने उल्लेख गर्दै उनले संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।






