एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३१ पुगेको छ। मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा प्रवेश गरेका आक्रमणकारीहरूले हमला गरेका थिए। करिब दुई लाख २० हजार जनसङ्ख्या रहेको कोहाटको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो। त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालयहरू सञ्चालनमा छन्।
प्रहरीका अनुसार केही आक्रमणकारी अझै पनि प्रहरी परिसरभित्र रहेको विशेष शाखाको क्षेत्रमा लुकेर बसेका छन्। उनीहरू र सुरक्षाकर्मीबीच रातिदेखि नै गोली हानाहान जारी रहेको बताइएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको यकिन सङ्ख्या भने खुल्न सकेको छैन।
पाकिस्तानले खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा पछिल्लो समय बढिरहेका सशस्त्र आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालन हुने भनिएका उग्रवादी समूहलाई जिम्मेवार ठहराउँदै आएको छ। यद्यपि, अफगानिस्तानको तालिवान सरकारले आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध हुने यस्ता गतिविधिमा संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ।
यस विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच तनाव थप चुलिँदै गएको छ। पाकिस्तानले अफगानिस्तानको भूमिमा रहेका लडाकुलाई लक्षित गरेको दाबी गर्दै हवाई आक्रमणसमेत गर्दै आएको छ।
गत जुनमा पूर्वी अफगानिस्तानमा भएका पाकिस्तानी हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको तालिवान सरकार र संयुक्त राष्ट्रसङ्घले बताएका थिए।






