रुपन्देही प्रहरीद्वारा ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका प्रतिवादीबाट कैद सजाय कार्यान्वयनसँगै एक करोड ३५ लाख ४० हजार ६०० रुपैयाँ जरिवाना असुलउपर गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिँदै फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो। उनले उक्त अभियानलाई आगामी दिनमा पनि प्राथमिकताका साथ निरन्तरता दिइने बताए।

प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रिय रहेको जनाएको छ। ठगी तथा अन्य अपराधजन्य घटनाको न्यूनीकरण र रोकथामका लागि शून्य सहनशीलताको नीति अपनाइएको पनि प्रहरीले स्पष्ट पारेको छ।

यसैबीच, रुपन्देही प्रहरीले ठगी तथा सङ्गठित अपराधको आरोपमा फरार रहेकी मर्चवारीमाई गाउँपालिका–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार बरईले समूह बनाई सर्वसाधारणबाट एक करोड ५० लाख २२ हजार ५२० रुपैयाँ ठगी गरेको आरोप छ। उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।