यमन– यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीच तनाव थप चर्किएको छ। हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन्।
सारियाले यसै साता यमनका नौवटा प्रान्तमा करिब ३०० पटक हवाई आक्रमण भएको दाबी गरेका छन्। यद्यपि, हुथी प्रवक्ताले लगाएको आरोपबारे साउदी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
यसैबीच, बाब अल–मन्देब जलडमरूनजिकै पर्ने लाहिज प्रान्तको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ। ताइज र मारिब क्षेत्रमा पनि हुथी विद्रोही तथा गठबन्धन समर्थित पक्षबीच झडप जारी रहेको जनाइएको छ।
हुथी समूहले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेसँगै यमनमा हिंसा थप बढेको बताइएको छ।
यमनमा सन् २०१४ मा हुथी विद्रोहीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि द्वन्द्व सुरु भएको थियो। त्यसयता साउदी नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ।






