कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामीको कुशको प्रतीकात्मक शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिएका हुन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका ४१ वर्षीय थामी दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थिए । पत्रकारितामा स्नातकोत्तर गरेका उनले आफ्नो लेखन र कलममार्फत नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको स्मरण गरिएको छ ।

थामीले एचबीसी एफएम, सगरमाथा टेलिभिजन र एबीसी टेलिभिजनमा काम गरेपछि लामो समय नयाँ पत्रिका दैनिकमा आबद्ध भएर पत्रकारिता गरेका थिए । उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण र लेखनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।

गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका थामी नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य थिए । उनी नेपाल थामी समाजका पूर्वउपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्षसमेत थिए ।

चीनको स्वशासित क्षेत्र सिचाङको केरुङमा भदौ १० गतेका लागि निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ कार्यक्रममा सहभागी हुन थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलमा रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

पशुपति आर्यघाटमा आयोजित अन्त्येष्टि कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले थामीको प्रतीकात्मक शवमा महासङ्घको झण्डा ओढाएकी थिइन् । नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अन्त्येष्टिमा पूर्वमन्त्रीहरू पार्वत गुरुङ र आनन्द पोखरेल, राष्ट्रिय समाचार समिति (रासस) तथा नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीलगायत पत्रकारिता, सामाजिक, राजनीतिक तथा कानुन क्षेत्रका अगुवा र थामीका सहकर्मीहरूको उपस्थिति थियो ।

स्वर्गीय थामी राससकर्मी कालिका खड्काका श्रीमान् थिए ।