काठमाडौं । ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ ।
निमा एजुकेशन फाउण्डेसनले आज आयोजित एक कार्यक्रममार्फत आगामी वर्ष थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली विद्यार्थी छनोट प्रक्रिया सुरु गरेको हो । सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी सहभागी हुने फाउण्डेसनले जनाएको छ ।
एआई तथा रोबोटिक्सको प्रयोगमार्फत संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्य हासिल गर्न नवीन समाधान, कार्यक्रम तथा कार्ययोजना निर्माणमा विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ ।
‘कोडेभर नेपाल’का कार्यक्रम संयोजक किरण श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन मुलुकका अधिकांश विद्यालयबाट माग भइरहेको छ । परिवर्तित विश्व परिवेशअनुसार विद्यार्थीमा आलोचनात्मक सोच, सिर्जनशीलता, सहकार्य र सञ्चारजस्ता चार महत्त्वपूर्ण सीप विकासमा प्रतियोगिताले जोड दिने उनले बताए ।
उनका अनुसार नवप्रवर्तन तथा उद्यमशीलता, स्वच्छ ऊर्जा र विश्वव्यापी ऊर्जा सङ्कटसँग सम्बन्धित चुनौतीको समाधान खोज्ने उद्देश्यले रोबोटिक्स निर्माण गर्नुका साथै फुटबल खेल्ने रोबोट तयार गरी प्रतिस्पर्धा गर्ने कार्यक्रम पनि प्रतियोगितामा समावेश छन् ।
गत वर्ष इन्डोनेसियाको जाकार्तामा सम्पन्न प्रतियोगितामा नेपालका पाँच हजार विद्यार्थीबाट छनोट भएका ९५ विद्यार्थी सम्मिलित ४० टोलीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा नेपाली टोलीले छ वटा अन्तर्राष्ट्रिय उपाधि जित्नुका साथै नेपालका तीन परियोजना विश्वका ३० उत्कृष्ट परियोजनाभित्र पर्न सफल भएका थिए ।
यसअघि सन् २०२४ मा दुबईमा ६० विद्यार्थी सम्मिलित २० टोली र सन् २०२५ मा कतारको दोहामा ७२ विद्यार्थी सम्मिलित १९ टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
फाउण्डेसनका कार्यकारी अधिकृत निश्चल प्रधानका अनुसार यसपटक नेपाललाई उत्कृष्ट १० मुलुकभित्र पार्ने लक्ष्यसहित आवश्यक तयारी भइरहेको छ ।
उनले थाइल्याण्डमा हुने प्रतियोगिताअन्तर्गत नेपाली प्रतिस्पर्धी छनोट प्रक्रियामा करिब आठ हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको बताए ।
कार्यक्रम संयोजक श्रेष्ठले चरणबद्ध रूपमा निश्चित विधि, प्रक्रिया, कार्यक्षमता र मापदण्डका आधारमा विद्यार्थी छनोट गरिने जानकारी दिए । छनोट भएका विद्यार्थीले नवीन सूचना प्रविधिमा आधारित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
फाउण्डेसनका अनुसार ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतियोगिता आगामी वैशाख–जेठमा आयोजना हुनेछ ।






