एमालेसँग तत्काल एकता र पद बाँडफाँटको हल्लामा सत्यता छैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेकपा र नेकपा एमालेबीच तत्काल पार्टी एकता हुने तथा एकतापछि नेताहरूबीच पद बाँडफाँट हुने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पुनले तत्काल एमालेसँग एकता गर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।

उनले भविष्यमा पार्टी एकता गर्ने विषयमा भने नेतृत्व तहमा छलफल भइरहेको जानकारी दिए । एमालेसँग प्रदेश सरकारमा सहकार्य भइसकेको उल्लेख गर्दै पुनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूसँग सहकार्य जारी रहने बताए । आवश्यकताअनुसार नेपाली कांग्रेससँग पनि सहकार्य हुन सक्ने उनको भनाइ थियो ।

एमालेभित्रको आन्तरिक बहस टुंगोमा नपुगेसम्म तत्काल पार्टी एकताको सम्भावना नरहेको पुनले स्पष्ट पारे ।

त्यस्तै, संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू सरकारमा रहेको टिप्पणी गर्दै उनले संविधानका विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

सरकारप्रति जनताको अपेक्षा उच्च रहे पनि अपेक्षाअनुसार परिणाम आउन नसक्दा जनतामा आक्रोश बढ्दै गएको नेता पुनले टिप्पणी गरे ।