काठमाडौं । संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावित नागरिकलाई सहयोग गर्ने तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्याली आयोजना गरेको छ।
‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ भन्ने नारासहित आयोजित र्यालीमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी र स्थानीयवासी गरी ३०० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए। र्याली व्यवस्थापनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेका थिए।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्यालीको शुभारम्भ गरेका थिए। उनले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताए।
विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले बाढीपहिरो प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्न र्याली आयोजना गरिएको बताए। उनले साइक्लिङलाई खेलकुद गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिए।
विद्यालयले यसअघि नै भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि ललितपुर प्याब्सनमार्फत ५१ हजार रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
काठमाडौँ शिक्षालय ललितपुर, इमाडोलबाट सुरु भएको र्याली कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टीकाथली, बालकोट, चाँगाथली, लुभु र लामाटार हुँदै शङ्खदेवी मन्दिर पुगेको थियो। त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनः विद्यालय परिसरमा फर्किएर र्याली समापन गरिएको थियो।
दुई विधामा सञ्चालन गरिएको र्यालीमा २० र २५ किलोमिटर दूरीका मार्ग तय गरिएको थियो। र्यालीले महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्रलाई समेटेको थियो।






