४३ जिल्लाका ३ हजार ३९६ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै ४३ जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिएका हुन्।

समितिका अनुसार असोज ३ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं र गोरखामा वडा अधिवेशन सम्पन्न भएको छ।

त्यस्तै कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका वडामा पनि अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। रसुवा, नुवाकोट र धादिङबाहेक अन्य जिल्लामा वडा अधिवेशन असोज ४ गते पनि जारी रहने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।