काठमाडौँ । राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियालाई ३–१ गोलले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ ।
रामोन सान्चेज पिजुआन रंगशालामा भएको खेलमा बार्सिलोनाको जितका नायक बनेका राफिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरे । यससँगै उनले यस सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या १४ पुर्याएका छन् ।
राफिन्हाले गत बुधबार रेसिङ सान्टान्डरविरुद्ध ७–२ को जित निकाल्दा पनि ह्याट्रिक गरेका थिए ।
खेलमा सेभियाले १९औँ मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिएको थियो । फेलिक्स कोरेइयाको क्रसमा फोफानाले नजिकको पोस्टतर्फ हेड गर्दै बललाई जाली चुमाएका थिए ।
तर, सेभियाको अग्रता लामो समय टिक्न सकेन । त्यसको तीन मिनेटपछि नै राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । उनले भित्रतर्फ मोडिँदै उत्कृष्ट फिनिसिङका साथ सेभियाका गोलकिपर ओडिसेयास भ्लाचोडिमोसलाई कुनै मौका दिएनन् ।
दोस्रो हाफको ५२औँ मिनेटमा लामिन यामलको उत्कृष्ट क्रसमा राफिन्हाले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ६९औँ मिनेटमा यामलकै उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोलकिपरमाथिबाट बल चिप गरेर राफिन्हाले ह्याट्रिक पूरा गरे ।
यस जितसँगै बार्सिलोनाले ला लिगामा लगातार सातौँ तथा सबै प्रतियोगितामा लगातार आठौँ जित दर्ता गरेको छ ।
जितपछि बार्सिलोना २१ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा बार्सिलोना ६ अंकले अगाडि छ । यद्यपि, बार्सिलोनाले दुवै टोलीभन्दा एक खेल बढी खेलेको छ ।
पराजित सेभिया भने १३ अंकसहित तालिकाको पाँचौँ स्थानमा यथावत् रहेको छ ।






