वाशिङ्टन । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको सैन्य अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा एउटा डुङ्गामाथि आक्रमण गरेको छ । लागुऔषध तस्करीमा प्रयोग भएको आशङ्का गरिएको उक्त डुङ्गामाथि गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
ट्रम्प प्रशासनले लागुऔषध तस्करलाई ‘नार्को–आतंकवादी’ भन्दै लक्षित गर्न थालेपछि अमेरिकी सेनाले समुद्रमा सञ्चालन गरेका यस्ता आक्रमणमा मारिनेको सङ्ख्या कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा भएका ६९ वटा आक्रमणमा उनीहरूको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी दक्षिणी कमाण्ड (युएस सदर्न कमाण्ड) ले लागुऔषध तस्करीका लागि परिचित समुद्री मार्गमा तस्करलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । तर, आक्रमण गरिएको डुङ्गामा लागुऔषध ओसारपसार भइरहेको पुष्टि गर्ने प्रमाण भने सेनाले सार्वजनिक गरेको छैन ।
कमाण्डले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको जस्तो देखिने एउटा डुङ्गा र त्यसपछि देखिएको चम्किलो प्रकाशको दृश्य समेटिएको छ ।
यसैबीच, ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूको भूमिमा समेत लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही विस्तार गर्न सहयोगी राष्ट्रहरूसँग सहकार्य गर्ने प्रयास गरिरहेको छ ।
रक्षामन्त्री पिट हेगसेथले गत महिना पानामाको भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनालाई आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही गर्न अनुमति दिन सहमति जनाएको बताएका थिए । तर, ग्वाटेमालाले भने त्यस्तो कुनै सम्झौता नभएको भन्दै उनको दाबी अस्वीकार गरेको छ ।
इक्वेडरले भने मार्चमै अमेरिकासँग सहकार्य गरी यस्तै प्रकारका सैन्य अभियान सञ्चालन गरेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ गरिरहेको बताउँदै आएका छन् । अमेरिकामा लागुऔषध भित्रिने प्रवाह र त्यसको अत्यधिक सेवनबाट हुने मानवीय क्षति रोक्न यस्ता आक्रमण आवश्यक रहेको उनको तर्क छ ।
यद्यपि, अमेरिकी प्रशासनले सैन्य आक्रमणमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको दाबी पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक गरेको छैन ।






