गोरखामा जिप दुर्घटना, ८ जना घाइते

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप ब्रेक फेल भएपछि आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जिप सडकको नालामा खसेर भित्तामा ठोक्किएको थियो । दुर्घटनाका बेला चालकसहित नौ जना सवार रहेकामा आठ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सिरानचोक गाउँपालिका–२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ, वडा नं. ७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की छन् ।

त्यस्तै, सिरानचोक गाउँपालिका–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ, वडा नं. ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली पनि घाइते भएका छन् ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि गोरखास्थित प्रदेश अस्पताल आँपपिपल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ