नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।

सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत छपाइ प्रक्रिया अघि बढाएको हो ।

नयाँ प्रणालीले नयाँ लाइसेन्स जारी गर्ने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई छिटो, सहज र सेवामुखी बनाउने अपेक्षा गरिएको छ । ईडीएलभीआरएसमा अपलोड गरिएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ । सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ ।

यस व्यवस्थाले लाइसेन्स छपाइ तथा वितरणमा लामो समयदेखि देखिँदै आएका समस्या समाधान गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।

व्यवस्थाअनुसार सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्नेछन् । सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ गरिरहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था अघि बढाइएको छ ।