एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आयोजक जापानले २०औँ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जितेको छ । नागोयाको गामागोरीमा शनिबार सम्पन्न पुरुष व्यक्तिगत ट्रायथलनमा जापानका ताकुमी होजोले स्वर्ण जित्दै प्रतियोगितामा आफ्नो देशको स्वर्ण पदकको खाता खोलेका हुन् ।

होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र पाँच किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक प्राप्त गरे ।

‘यो हाम्रो पहिलो स्वर्ण पदक भएकाले यसले जापानी टोलीको मनोबल उच्च बनाएको छ,’ ३० वर्षीय होजोले भने । उनको जितले सन् २०२८ मा लस एन्जलसमा आयोजना हुने ओलम्पिकका लागि छनोटको अवसरसमेत सुनिश्चित गरेको छ ।

महिला व्यक्तिगत ट्रायथलनमा चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन् । उनकी हमवतन हुआङ आन्की दोस्रो तथा जापानकी मानामी हायासी तेस्रो भइन् ।

यसैबीच, प्रतियोगिताको उद्घाटनकै दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले उत्कृष्ट प्रदर्शन गरेकी छन् । अर्को महिना १४ वर्ष पुग्न लागेकी उनले महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालिन् ।

युले आफ्नै देशकी चाङ मोहनलाई करिब २.७० सेकेन्डले पछि पार्दै आइतबार हुने फाइनलमा स्थान सुरक्षित गरेकी छन् । उनको प्रदर्शनले स्वर्ण पदकको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानधारी तथा ओलम्पिक च्याम्पियन चीनका पान झानलेले ४८.०७ सेकेन्डमा दूरी पूरा गर्दै फाइनलमा प्रवेश गरे । उनी दक्षिण कोरियाका ह्वाङ सन–वुभन्दा ०.०६ सेकेन्डले अगाडि रहे ।

शनिबार नागोयास्थित ३० हजार दर्शक क्षमताको रङ्गशालामा जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाभरका खेलाडीले ४० भन्दा बढी खेलमा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खर्च कटौती गर्ने उद्देश्यले आयोजकले परम्परागत खेलाडी गाउँ निर्माण नगरेपछि ११ हजारभन्दा बढी खेलाडी र छ हजार अधिकारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सहभागी खेलाडी तथा अधिकारीहरू होटल, अस्थायी आवास र ‘कोस्टा सेरेना’ क्रुज जहाजमा बसिरहेका छन् ।

यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण केही खेलाडी विमानस्थलमै अलपत्र परेको तथा अस्थायी आवासको गुणस्तरबारे विभिन्न टोलीले गुनासो गरेको जनाइएको छ ।

यसैगरी, दक्षिण कोरियाली पुरुष हक्की टोलीको खेलअघि गल्तीले उत्तर कोरियाको राष्ट्रिय गान बजाइएको घटनाप्रति आयोजकले माफी मागेको छ ।

प्रतियोगितामा एथलेटिक्स र पौडीजस्ता ओलम्पिकका प्रमुख खेलसँगै सेपाक ताक्रो र कबड्डीजस्ता क्षेत्रीय खेलहरू पनि समावेश गरिएका छन् ।