७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेसको अधिवेशन सम्पन्न, बाँकी वडामा सोमबार निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन प्रक्रिया केही जिल्ला तथा निर्वाचन क्षेत्रमा सोमबार पनि सञ्चालन हुने भएको छ।

असोज ३ गतेदेखि देशभर सुरु भएको वडा अधिवेशनको दोस्रो दिन असोज ४ गतेसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार ताप्लेजुङदेखि कैलालीसम्मका अधिकांश वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्। यद्यपि, केही जिल्ला तथा निर्वाचन क्षेत्रमा प्राविधिकलगायत विभिन्न कारणले अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ।

निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका निर्वाचन क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र परासी क्षेत्र नम्बर २ मा वडा अधिवेशन हुन बाँकी छ।

यी जिल्ला तथा निर्वाचन क्षेत्रसहित आइतबार सम्पन्न हुन नसकेका अन्य वडामा सोमबार असोज ५ गते अधिवेशन सञ्चालन गरिने समितिले जनाएको छ।

समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन कार्यतालिकाअनुसार बाँकी रहेका स्थानमा सोमबार अधिवेशन हुने भएकाले सम्पूर्ण सरोकारवालालाई आवश्यक तयारीमा रहन आग्रह गरिएको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। वडा अधिवेशनलाई उक्त महाधिवेशनको आधारभूत प्रक्रियाका रूपमा लिइएको छ।