म्याग्दी। वैदेशिक रोजगारीका लागि १३ वर्ष साउदी अरबमा बिताएर स्वदेश फर्किएका पर्वतको जलजला गाउँपालिका-८ लस्तीका तोपबहादुर क्षेत्रीले अहिले गाईभैँसीपालन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्।
विसं २०७३ मा तीन वटा गाईभैँसीबाट सुरु गरेको ‘गोमा गाई भैँसी फार्म’ मा अहिले १४ वटा पशु रहेका छन्। क्षेत्रीले दैनिक ९० लिटर दूध बिक्री गरेर मासिक रु एक लाखभन्दा बढी बचत गर्दै आएका छन्।
क्षेत्रीले दूधका अतिरिक्त पनिर, घिउ र मोहीसमेत उत्पादन तथा बिक्री गर्छन्। व्यवसायबाट भएको आम्दानीले उनले विदेश जाँदा लागेको रु ६० लाख ऋणसमेत चुक्ता गरिसकेका छन्।
कोरोना महामारीका समयमा बजारसम्म दूध लैजान नपाउँदा केही नोक्सानी व्यहोरेका उनले पछिल्लो समय गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको ‘वृद्धिमुखी उद्यमशीलता विकास परियोजना’ बाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको बताए।
क्षेत्रीले भने, “अहिले व्यवसायमा घाटा छैन। मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ।” उनले फार्ममा आफ्नी श्रीमती गोमासँगै एक जना कामदारलाई समेत रोजगारी दिएका छन्। स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले किसानको दूध सङ्कलन गरी बागलुङ बजारसम्म पुर्याउने व्यवस्था मिलाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सहकारीले किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको संस्थाका सचिव खड्ग केसीले जानकारी दिए।
क्षेत्रीले आफ्नो फार्ममा पशुको सङ्ख्या बढाएर ३० पुर्याउने योजना बनाएका छन्। यद्यपि, पशुपालनमा दक्ष कामदारको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको उनले बताए। निरन्तर हेरचाह र व्यवस्थापन आवश्यक पर्ने यस व्यवसायमा दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ।






