काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
जापानको नागोयास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अङ्कले पराजित भएको हो ।
खेलको पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिए पनि २८–२४ अङ्कले पछि परेको थियो । दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरे पनि नेपाल सफल हुन सकेन ।
दोस्रो हाफमा थाइल्यान्डले ३१ अङ्क जोड्दा नेपालले २४ अङ्क मात्रै बनाउन सक्यो । दुवै हाफमा पछि परेको नेपाल अन्ततः ११ अङ्कको अन्तरले पराजित भयो ।
भारतमा व्यावसायिक कबड्डी लिग खेलेका घनश्याम रोक्कामगरको कप्तानीमा मैदानमा उत्रिएको नेपालले पहिलो खेलमै हार बेहोरेको हो ।
समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।






