सिरहा । ‘अब न्याय पाउँछौं’ भन्ने विश्वास गुमाइसकेको परिवारमा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवका हत्याका मुख्य अभियुक्त पक्राउ परेपछि फेरि न्यायको आशा पलाएको छ।
तस्करी रोक्ने क्रममा तस्कर समूहको आक्रमणमा परी मारिएका सई लक्ष्मणप्रसादका दाजु पाण्डव यादवले २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेपछि न्याय पाउने विश्वास फर्किएको बताएका छन्।
नागरिकमाथि अन्याय हुँदा प्रहरीले सुरक्षा दिन्छ भन्ने विश्वास सबैमा हुने भए पनि सुरक्षामा खटिएका प्रहरीकै हत्या हुँदा न्याय नपाएपछि आफूहरूको विश्वास हराउँदै गएको पाण्डवले बताए। लामो समयसम्म अभियुक्त पक्राउ नपरेपछि न्याय पाउने आशासमेत मरेको उनको भनाइ थियो। अहिले मुख्य अभियुक्त पक्राउ परेपछि भने परिवारमा न्यायप्रतिको विश्वास पुनः जागेको उनले बताए।
यस्तो थियो घटना
विसं २०८१ मंसिर १६ गते बिहान भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी टोली सीमा क्षेत्रमा खटिएको थियो। राति करिब ३ बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा बीओपी बडहरी बरियारपट्टीबाट सई लक्ष्मणप्रसाद यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
सूचनाका आधारमा निगरानी गरिरहेको टोलीले डीएल ५ सीजे ७१७१ नम्बरको सफारी जीप आइरहेको देखेपछि रोक्ने प्रयास गरेको थियो। तर, चालकले सई लक्ष्मणप्रसादलाई ठक्कर दिएर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका सई लक्ष्मणप्रसादको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि जीपमा सवार व्यक्तिहरू फरार भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै संलग्न व्यक्तिहरूको खोजी गरिरहेको थियो।
२२ महिनापछि मुख्य अभियुक्त पक्राउ
घटना भएको २२ महिनापछि प्रहरीले भारतको बिहारस्थित मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी सई लक्ष्मणप्रसादको हत्याका मुख्य अभियुक्त हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनामा प्रयोग भएको सफारी जीपका धनीसमेत रहेका कुरवानलाई बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले कुरवानसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउका क्रममा प्रहरीमाथि गोली प्रहार
इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले पक्राउ गर्न खोज्दा सीमा क्षेत्रबाट भाग्ने क्रममा अभियुक्तहरूले प्रहरीलाई लक्षित गरी एक राउन्ड गोली चलाएको प्रहरीको भनाइ छ।
त्यसपछि प्रहरीले जवाफी कारबाहीका क्रममा तीन राउन्ड गोली प्रहार गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
गोली लागेर कुरवानको बायाँ हातको कुहिनो र दाहिने कोखमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
परिवारलाई न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धता
मुख्य अभियुक्त पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठक र सशस्त्र प्रहरीका एसपी सुमनजङ्ग थापासहितको टोली मृतक सई लक्ष्मणप्रसादको घर पुगेको थियो।
उक्त टोलीले परिवारसँग भेट गरी घटनामा संलग्न बाँकी अभियुक्तलाई समेत चाँडै पक्राउ गर्ने र न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको थियो।Type / to choose a block






