पर्सामा दुई राउन्ड हवाई फायर गरेर ३० किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ – पर्सामा प्रहरीले दुई राउन्ड हवाई फायर गरी ३० किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका–१ स्थित मलाही टोलमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज ४ गते राति करिब १० बजे गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीलाई देखेपछि संलग्न व्यक्तिहरू भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरिएको थियो।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीया भुटी भन्ने भुरी चौधरी रहेका छन्।

प्रहरीले सुरुमा ३० किलो गाँजासहित महेश र नन्दलाललाई पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा भुरी चौधरीसमेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।