काठमाडौँ । चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई एक करोड १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपद्का बेला चीनले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय तथा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।
त्यस अवसरमा चिनियाँ राजदूत चाङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको जानकारी दिए।
चीनले उपलब्ध गराएको उक्त रकम बाढी प्रभावित बालबालिकाको सहयोगमा उपयोग गरिने जनाइएको छ।






