उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै बजारमा उचित मूल्य नपाउँदा चितवनका किसान मर्कामा परेका छन् । बजारमा केराको मूल्य आधाभन्दा बढी घटेको छ भने बिक्री हुन नसकेका केरा बारीमै सड्ने अवस्था आएको छ ।

गत वर्षदेखि सरकारले केरा आयातमा रोक लगाएपछि उत्साहित भएका किसानले खेती विस्तार गरेका थिए । तर उत्पादन बढे पनि बजार व्यवस्थापन प्रभावकारी हुन नसक्दा किसानले उचित मूल्य पाउन सकेका छैनन् ।

नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केही दिनयता केराको मूल्य अस्वाभाविक रूपमा घटेको छ । पहिले प्रतिकोसा नौ रुपैयाँसम्ममा बिक्री हुने केरा अहिले तीनदेखि चार रुपैयाँमा बेच्न किसान बाध्य भएका छन् ।

उनका अनुसार देशभर करिब २३ हजार बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । एक बिघामा दुई हजारसम्म बेर्ना रोप्न सकिने र एउटा बिरुवाबाट १०० देखि २०० कोसासम्म केरा उत्पादन हुने गरेको छ । नेपाल केरामा आत्मनिर्भर भइसकेको अवस्थामा आयात रोकिएपछि किसानले थप तीन हजार बिघा क्षेत्रफलमा खेती विस्तार गरेका थिए । उत्पादनको अवस्था यस्तै रहे आगामी वर्ष नेपालले केरा निर्यात गर्नुपर्ने पन्तको भनाइ छ ।

काठमाडौँ, पोखरा र नेपालगञ्जलगायत प्रमुख बजारमा समेत केराको मूल्य घटेको छ । समयअनुसार बजार व्यवस्थापन हुन नसक्दा किसानले उत्पादन गरेको केरा बिक्री गर्न समस्या भएको हो । किसानले फागुन, चैत र वैशाखसम्म बजारमा नियमित आपूर्ति कायम राख्ने गरी उत्पादन योजना बनाएका छन् ।

देशमा केराको उत्पादन बढेर नौ लाख मेट्रिक टन पुगेको जनाइएको छ । दसैँ, तिहार र छठसम्म केराको मूल्य बढ्ने सम्भावना रहेको किसानको अनुमान छ । फागुनपछि मूल्यमा सुधार आउने अपेक्षा गरिएको छ । चितवनको सुपरजोन क्षेत्रमा मात्रै एक हजार ८५० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ, जुन नेपालको कुल केरा खेती क्षेत्रफलको करिब १५ प्रतिशत हो ।

केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन बजारमा नलैजाने र सस्तोमा खरिद गरिएको केरा महँगोमा बिक्री गर्ने प्रवृत्तिले समस्या बढाएको बताए । उनका अनुसार किसानले सस्तोमा केरा बिक्री गर्नुपरे पनि उपभोक्ताले भने जी नाइन जातको केरा प्रतिदर्जन १०० रुपैयाँभन्दा बढी मूल्यमा खरिद गर्नुपर्ने अवस्था छ ।

केरा बिक्री हुन नसक्दा बारीमै बिग्रने जोखिम बढेको छ । भोटेकोशी–त्रिशूली बाढीलगायतका कारण राजधानीसहित ठूला बजारमा केरा पठाउन कठिनाइ हुँदा मूल्यमा गिरावट आएको किसानको भनाइ छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ का किसान शंकर सुवेदीले बाढीका कारण विभिन्न स्थानमा पुग्न नसक्दा केराको मूल्य घटेको बताए । ६४ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका सुवेदीले यस वर्षदेखि देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बाह्रै महिना उत्पादन दिन सक्ने जातको केरा खेती सुरु गरेको जानकारी दिए ।

उत्पादनको लागतअनुसार उचित मूल्य सुनिश्चित गर्न सके नेपाली किसानले सहजै केरामा आत्मनिर्भर बनाउन सक्ने उनको भनाइ छ । महासङ्घको तथ्याङ्कअनुसार नेपालमा एक जना किसानले १०० बिघासम्म क्षेत्रफलमा केरा खेती गरेको पाइएको छ ।

सरकारले गत असोज ६ गते केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णय पुस ६ गतेदेखि कार्यान्वयनमा आएपछि किसान खेती विस्तार गर्न उत्साहित भएका थिए । नेपालमा हाल मालभोग, जी नाइन र चिनी चम्पालगायत जातका केरा खेती हुँदै आएको छ ।