एमाले केन्द्रीय कमिटी बैठकः अध्यक्षद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि आजको बैठक सम्पन्न भएको छ ।

ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन प्रस्तुत भएसँगै आजका लागि बैठक स्थगित गरिएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

उहाँका अनुसार भोलिदेखि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले सुझाव राख्नेछन् । प्रत्येक केन्द्रीय सदस्यलाई सुझाव दिन तीन–तीन मिनेटको समय उपलब्ध गराइनेछ ।

बैठक भोलि बिहान ९ बजे सोही स्थानमा पुनः बस्नेछ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको यो पहिलो बैठक हो ।

बैठक असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।