बाँके । बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानअन्तर्गत एक साताभित्र तीन हजार ११९ किशोरीलाई खोप लगाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असोज १ गतेदेखि सुरु भएको अभियानमा विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको हो।
जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ।
यस अभियानमा जिल्लाभर कक्षा ६ मा अध्ययनरत चार हजार ३८० र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका करिब पाँच हजार ६९१ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।
स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देवनारायण उपाध्यायले खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिए। उनले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रदान गरिने एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताए।
महिनावारी सुरु हुनुअघि एचपिभी खोप लगाउँदा बढी प्रभावकारी हुने उल्लेख गर्दै उनले लक्षित किशोरीमध्ये ९९ प्रतिशतभन्दा बढीमा खोपको पहुँच पुर्याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
नेपालमा औसतमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको बताइएको छ। महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो धेरै देखिने तथा मृत्युको प्रमुख कारणमध्ये एक रहेको छ।
एचपिभी खोपले ९५ प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ। सरकारले नौदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्दै आएको छ।
गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई एचपिभी खोप लगाइएको थियो।






