काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोग निको पार्ने भन्दै गरिने भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
परिषद्ले जारी गरेको सूचनामार्फत क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने तथा जटिल रोगको उपचारमा शतप्रतिशत निको हुने र निको नभए पैसा फिर्ता गर्ने जस्ता भ्रामक दाबीप्रति ध्यानाकर्षण गराएको हो।
यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रममा पार्ने भएकाले गैरकानुनी विज्ञापन तथा प्रचारप्रसार रोक्न परिषद्ले अनुरोध गरेको छ।
परिषद्ले कानुनविपरीत यस्ता गतिविधि सञ्चालन भइरहेको भए १५ दिनभित्र बन्द गर्न तथा गराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
सूचनाको अवज्ञा गर्दै अवाञ्छनीय गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने परिषद्ले जनाएको छ।






