गोरखा। भारी हिमपात र निरन्तर वर्षाका कारण मनसुन प्रतिकूल बनेपछि मनास्लु हिमाल आरोहणका लागि गएका आरोही बाटोबाटै फर्किन थालेका छन्। दुई सातासम्म मौसममा सुधार आउने प्रतीक्षा गर्दा पनि अनुकूल अवस्था नबनेपछि आरोहीहरू फर्किन थालेका हुन्।
मनास्लु हिमाल नजिकै रहेको गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाका अनुसार निरन्तर वर्षा र हिमपातका कारण आरोहण जोखिमपूर्ण बनेको छ।
उनका अनुसार मनास्लु क्षेत्र र आसपासका स्थानमा पाँच फिटसम्म बाक्लो हिउँ जमेको छ। विगतमा यस्तो अवस्था विरलै देखिने गरेको उल्लेख गर्दै उनले यसपटकको हिमपात असामान्य रहेको बताए।
‘यस्तो त कहिल्यै भएको थिएन। खै के भएको हो, पानी र हिउँ परिरहेको छ,’ वडाध्यक्ष लामाले भने, ‘झन् आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ। त्यही भएर आरोही धमाधम फर्किएका छन्।’
मौसममा सुधार आए पनि यस याममा पुनः आरोहणका लागि फर्किने सम्भावना कम रहेको उनको भनाइ छ।
स्थानीय व्यवसायी प्रबल लामाका अनुसार मनास्लु क्षेत्रमा पछिल्लो दुई सातादेखि निरन्तर वर्षा भइरहेको छ। सन् २०१४ देखि बेस क्याम्पमा नियमित आवतजावत गर्न थालेयता आफूले यस्तो मौसम पहिलोपटक देखेको उनले बताए।
‘बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो। यो १२ वर्षको अवधिमा यस्तो कहिल्यै देखिनँ,’ उनले भने, ‘यो वर्ष त पानी ननस्टप परिरहेको छ। हिमपात पनि उस्तै छ।’
उनका अनुसार बेस क्याम्पमा तीन फिटसम्म हिउँ जमेको छ भने क्याम्प वान, क्याम्प टु र क्याम्प थ्रीतर्फ सातदेखि आठ फिटसम्म हिउँ परेको छ। मौसम प्रतिकूल बनेर जोखिम बढेपछि आरोहीहरू फर्किन थालेको उनले बताए।
यद्यपि, प्रतिकूल मौसमका कारण केही आरोही फर्किए पनि सामागाउँ क्षेत्रमा अझै ठूलो सङ्ख्यामा आरोही रहेको होटल व्यवसायी मिङ्मार छिरिङ लामाले जानकारी दिए।
‘हिमाल चढ्न नसकेर पोहोरतिर पनि फर्कन्थे। यसपालि चाहिँ अलि धेरै फर्किएका छन्। मौसम प्रतिकूल भएर होला,’ उनले भने, ‘अहिलेसम्म १० प्रतिशतजति फर्किए होलान्।’
विश्वकै चर्चित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस याममा करिब पाँच सय आरोहीले अनुमति लिएका थिए।
गत वर्ष ६७ देशका ४१ समूहबाट ३६६ पुरुष र १२७ महिला गरी कुल ४९३ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका थिए। त्यसबाट नेपाल सरकारले २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो।






