नेपाल टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

काठमाडौं – नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी र फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। चितवनको मोहनपुरमा पनि नयाँ साइट सञ्चालन गरिएको छ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ।

लुम्बिनी प्रदेशमा कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

नयाँ साइट सञ्चालनसँगै सम्बन्धित क्षेत्रका नागरिकको मोबाइल तथा डेटा सेवामा पहुँच विस्तार हुनुका साथै सेवाको गुणस्तरमा सुधार आउने टेलिकमको अपेक्षा छ।

दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ मोबाइल साइट थप गर्दै जाने योजना रहेको टेलिकमले जनाएको छ।