मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ टिप्ने र खाने उत्सव सुरु भएको छ। कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रले असोज ३ देखि १५ गतेसम्म उत्सव सञ्चालन गरेको हो।
रसिला र स्वादिला स्याउ उत्पादनका लागि परिचित हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले आयोजना गरेको उत्सवमा सहभागी हुन पर्यटकहरू मार्फाका स्याउ बगानमा पुग्न थालेका छन्। केन्द्र प्रमुख प्रकाश पन्थका अनुसार स्याउ टिप्ने र खाने उत्सव आयोजना गरिएको हो।
स्याउ टिप्ने तथा बजारमा पठाउने मुख्य सिजन सुरु भएसँगै मुस्ताङ भ्रमणमा आउने पर्यटकका लागि बगानमै पुगेर स्याउ टिप्ने र खाने अवसर जुटेको छ। उत्सवमा सहभागी हुन चाहने पर्यटक तथा स्थानीयका लागि केन्द्रले प्रतिव्यक्ति २०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको प्रमुख पन्थले जानकारी दिए।
उत्सवका क्रममा स्याउ टिप्दा हाँगा भाँचिएर बोटमा क्षति पुर्याएमा एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।
विसं २०२३ मा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण फलफूल, तरकारी तथा अन्य बालीका बिरुवाको उत्पादन र बिक्री वितरण गर्दै आएको छ।






