दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको छ । प्रसारण लाइन आयोजनाको रुट लट–२ अन्तर्गत रातमाटादेखि न्यु दमौलीसम्मको ४०.०२ किलोमिटर खण्ड तनहुँका पाँच पालिकाका १८ वडामा पर्नेछ ।
एमसीए नेपालका तनहुँ सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार उक्त खण्डमा १९९ वटा प्रसारण लाइन टावर निर्माण गरिनेछन् । आयोजनाको निर्माणको जिम्मा एन्जिलक स्कीपर जेभी इन्डियाले पाएको छ । एमसीए नेपालअन्तर्गत निर्माण हुने प्रसारण लाइनको कुल लम्बाइ ७२.४५ किलोमिटर रहेको छ ।
तनहुँ खण्डमा निर्माण हुने टावरमध्ये १०५ वटा निजी जग्गामा र ७१ वटा सार्वजनिक जग्गामा निर्माण हुनेछन् । प्राविधिक कारणले २३ वटा टावरको निर्माण कार्य भने हाल रोकिएको छ । ती टावर निर्माणका लागि आवश्यक जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम अधिग्रहण प्रक्रिया अघि बढाइएको ढकालले जानकारी दिए ।
आयोजनाबाट तनहुँमा २४१ घरधुरी प्रभावित हुनेछन् । टावर निर्माणका क्रममा २८४ वटा निजी कित्ता प्रभावित हुनेछन् भने आयोजनाका लागि कुल १२६.८६ रोपनी निजी जग्गा प्राप्त गर्नुपर्नेछ ।
प्रभावित जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम पनि अघि बढिरहेको छ । ढकालका अनुसार निर्णय भइसकेको कुल मुआब्जा तथा क्षतिपूर्ति रकम १७ करोड छ लाख ८९ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये गत आर्थिक वर्षको असार मसान्तसम्म १७२ घरधुरीलाई १० करोड ३३ लाख ८८ हजार ७४४ रुपैयाँ वितरण गरिएको छ ।
बाँकी जग्गा अधिग्रहण गरी मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य एमसीए नेपालले लिएको छ । यससँगै प्रसारण लाइनका तारमुनि पर्ने जग्गाको मार्गाधिकार क्षतिपूर्ति निर्धारण तथा वितरण प्रक्रिया पनि अघि बढाइनेछ ।
मार्गाधिकारअन्तर्गत प्रसारण लाइन निर्माणपछि तारमुनिको जग्गामा पर्ने असरका आधारमा सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । आवश्यक प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षमै क्षतिपूर्ति निर्धारण तथा वितरण गर्ने लक्ष्य रहेको ढकालले बताए ।
विद्युत् उत्पादन आयोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न एमसीएअन्तर्गतको प्रसारण लाइन आयोजना महत्त्वपूर्ण मानिएको छ । विद्युत् उत्पादन आयोजना र प्रसारण संरचनाबीच समन्वय कायम गर्दै उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न यसले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तनहुँ खण्डमा जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरण र रोकिएका टावर निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनको काम अघि बढेसँगै प्रसारण लाइन निर्माणले थप गति लिने अपेक्षा गरिएको छ ।






