नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको संयोजन समिति बैठकले सदस्यता वितरण तथा नवीकरण, संगठन निर्माण र बाँकी संगठनात्मक कामलाई अभियानसँग जोडेर अघि बढाउने निर्णय गरेको हो।

अभियानका क्रममा संगठन निर्माण, विभिन्न तहमा बाँकी रहेका संगठनात्मक कामको समायोजन तथा सदस्यता वितरण र नवीकरणलाई प्राथमिकता दिइने पार्टीले जनाएको छ। अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने सचिवालय बैठकले पारित गर्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

बैठकले रसुवालगायतका क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका काममा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत गरेको छ। विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने जनाएको छ।

नेकपाले सरकारका जनविरोधी गतिविधि, बढ्दो महँगी र कुशासनविरुद्धको आन्दोलनलाई पनि राष्ट्रिय जनअभियानसँग जोड्ने तयारी गरेको छ। संविधानको रक्षा तथा लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीका विषयमा जनस्तरमा अभियान सञ्चालन गर्दै आन्दोलन अघि बढाउन व्यवस्थित कार्ययोजना तयार गरिने पार्टीले जनाएको छ। उक्त कार्ययोजना पनि सचिवालय बैठकबाट पारित गरिनेछ।

यसैबीच, नेकपाले विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यका लागि देव गुरुङको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। समितिले विभिन्न कम्युनिस्ट पार्टी तथा समूहसँग संवाद गरी एकता र सहकार्यका सम्भावनाबारे छलफल अघि बढाउनेछ।

यसअघि नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने लक्ष्यसहित भदौदेखि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन तथा संगठनात्मक गतिविधिको कार्यतालिका बनाएको थियो। तर, पछिल्लो समय आएको बाढीपहिरोका कारण निर्धारित कार्यतालिका कार्यान्वयन गर्न नसकिएको प्रवक्ता ज्वालाले बताए।

उनका अनुसार अब विपद्बाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई निरन्तरता दिँदै पार्टीका संगठनात्मक गतिविधिलाई पनि पुनः व्यवस्थित रूपमा अघि बढाइनेछ।