बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे मन्त्रीद्वयबाट जानकारी

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने पूर्वानुमानबारे जानकारी लिए।

बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो।

उक्त प्रणालीको सम्भावित प्रभावबारे जानकारी लिन मन्त्रीद्वय आज मौसम विज्ञान विभाग पुग्नुभएको हो। सो अवसरमा उहाँहरूले नेपालमा वर्षा गराउने प्रणालीका कारण पर्न सक्ने प्रभावबारे विभागका अधिकारीसँग जानकारी लिएका विभागले जनाएको छ।

विभागका अनुसार बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण बुधबारदेखि नै नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने सम्भावना छ।

“उक्त प्रणालीको प्रभावले भोलि (बुधबार) देखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ । यसबारे विभागले नियमित जानकारी गराउने छ”, विभागले जनाएको छ।