काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले हिमाली याकको दूधबाट उत्पादित चिज थाइल्यान्ड निर्यात गर्न थालेको छ। निजी क्षेत्रसँगको सहकार्यमा डिडिसीले औपचारिक च्यानलमार्फत बैंककमा पहिलो खेपका रूपमा ३० किलो याक चिज निर्यात गरेको हो।
डिडिसीका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार बैंककमा नेपाली समुदायले सञ्चालन गरेका रेस्टुरेन्टलाई लक्षित गर्दै निर्यात सुरु गरिएको हो। थाई नागरिकहरूमा चिजको माग र रुचि देखिएपछि परीक्षणस्वरूप पहिलो चरणमा ३० किलो याक चिज पठाइएको उनले बताए।
‘थाई नागरिकहरूले चिज धेरै मन पराउने गरेको पायौँ। त्यसैले पहिलो चरणमा परीक्षणका लागि ३० किलो याक चिज पठाएका छौँ,’ पाण्डेले भने, ‘आगामी दिनमा माग बढ्दै गएअनुसार निर्यातको परिमाण पनि बढाउन सकिन्छ।’
प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि याक चिजको प्रवर्द्धन गरेका थिए। त्यसपछि डिडिसीका उत्पादनको प्रचारप्रसारसँगै उत्पादन र बजार विस्तारमा संस्थाले जोड दिएको जनाएको छ।
महाप्रबन्धक पाण्डेको सक्रियतामा डिडिसीको घिउ पनि पहिलोपटक दुबई निर्यात भएको थियो। त्यसपछि याक चिजलाई समेत विदेशी बजारमा विस्तार गर्ने प्रयास अघि बढाइएको हो।
डिडिसीले वार्षिक ६० हजार किलोभन्दा बढी याक चिज उत्पादन गर्दै आएको छ। नेपाल आउने विदेशी पर्यटकमाझ समेत लोकप्रिय याक चिज ठूला होटल, रेस्टुरेन्ट तथा हिमाली र पहाडी पर्यटकीय क्षेत्रमा बढी खपत हुने गरेको डिडिसीले जनाएको छ।






