काठमाडौं– फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त विधेयक पेश गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन तथा समग्र व्यवस्थापनका सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले विधेयक तयार गरिएको बताए। उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्ने व्यवस्था पनि विधेयकमा समेटिएको जानकारी दिए।
फोहोरमैलाको समुचित तथा प्रभावकारी व्यवस्थापनमार्फत स्वच्छ र स्वस्थ वातावरण कायम गर्नुका साथै मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने लक्ष्यसहित विधेयक ल्याइएको उनले बताए।
त्यस्तै, चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार फोहोरमैलालाई प्रशोधन गरी पुनः स्रोत वा कच्चा पदार्थका रूपमा उपयोग गर्न सकिने कानुनी व्यवस्था मिलाउनु विधेयकको अर्को उद्देश्य रहेको मन्त्री लम्सालले उल्लेख गरे।






