भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

कैलाली – असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमानपछि कैलालीमा बाढी, पहिरो, नदी कटान तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइने भएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्लाभर आवश्यक पूर्वतयारी र प्रतिकार्यका कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायलाई आ–आफ्नो क्षेत्रअनुसार पूर्वतयारीसहित तयारी अवस्थामा रहन निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी प्राप्त हुनासाथ स्थानीय तह, सुरक्षा निकाय र जिल्लावासीलाई तत्काल सूचना उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

विशेषगरी कर्णाली नदीको बेनिघाट जलस्तर मापन केन्द्र, मोहना लगायतका प्रमुख नदी तथा खोलाको जलसतह नियमित अद्यावधिक गरी नदी किनार र जोखिमयुक्त बस्तीमा समयमै सूचना प्रवाह गर्ने निर्णय गरिएको छ । जलसतह बढेको अवस्थामा सुरक्षा निकाय, स्थानीय तह तथा सञ्चारमाध्यममार्फत प्रभावकारी सूचना प्रवाह गर्न स्थानीय तहलाई थप सक्रिय हुन आग्रह गरिएको छ ।

सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै सडक डिभिजन, हेभी इक्विपमेन्ट कार्यालय, स्थानीय तह र ट्राफिक प्रहरी कार्यालयलाई डोजर, स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णयसमेत भएको छ ।

त्यस्तै, सम्भावित बाढी, पहिरो तथा डुबानबाट प्रभावित हुने क्षेत्रको आकलन गरी उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न भनिएको छ । आवश्यक परेको अवस्थामा रबर बोट, मोटरबोटलगायत उद्धार सामग्री तत्काल परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।

बैठकले भारी वर्षाबाट हुनसक्ने क्षतिको पूर्वानुमान गरी राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायलाई मनसुन प्रतिकार्य योजना, २०८३ अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि जोड दिएको छ ।

कर्णाली नदीको कटानबाट जोखिममा रहेका टीकापुर नगरपालिका–५ लगायतका स्थानमा तत्काल अस्थायी रोकथामको व्यवस्था मिलाउने निर्णय गरिएको छ । यसका लागि टीकापुर नगरपालिका र सुरक्षा निकायबीच समन्वय गर्ने तथा जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्ध निर्माणका लागि आवश्यक सहकार्य गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

विपद् व्यवस्थापन, स्थानीय तहको विपद् प्रतिकार्य योजना निर्माण, विपद्का समयमा सूचना व्यवस्थापन तथा स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउन जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) को भूमिका थप सक्रिय बनाउने निर्णयसमेत गरिएको छ ।

यसैगरी, विपद् प्रतिकार्यका लागि प्रत्येक स्थानीय तहले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई रु एक लाख उपलब्ध गराउने यसअघिको निर्णय कार्यान्वयन गर्न बाँकी रहेका स्थानीय तहलाई रकम उपलब्ध गराउन आग्रह गरिएको छ ।

रसुवा बाढीबाट कैलालीका मृतक तथा बेपत्ता भएका व्यक्तिका पीडित परिवारलाई स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा रेडक्रस, सहयोगी संस्था तथा व्यक्तिमार्फत राहत सामग्री वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा भएको बैठकमा धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरीगङ्गा, घोडाघोडी, लम्कीचुहा, टीकापुर र भजनी नगरपालिकाका साथै कैलारी, बर्दगोरिया, जोशीपुर, जानकी, चुरे र मोहन्याल गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा नेपाली सेना देवीदल गण, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको पनि उपस्थिति रहेको थियो ।