हेटौँडा- भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सवारी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिए ।
उहाँका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न पाइनेछ ।
त्यसैगरी, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट हेटौँडातर्फ सवारी सञ्चालन गर्न दिइनेछ ।
प्रशासकीय अधिकृत सुवेदीका अनुसार दुवै सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ ।
सम्भावित बाढी, पहिरो तथा अन्य विपद्का जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यात्रुलाई तोकिएको समयभित्र मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।






