डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

काठमाडौं– विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग गरेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरणका क्रममा डा. गुरुङले बाढी प्रभावित समुदायको सहयोगका लागि कोष आफ्नो अभियानमा प्रतिबद्ध रहेको बताए ।

उनले बाढीका कारण प्रभावित केही व्यक्ति अझै सम्पर्कविहीन रहेको तथा सडक र सञ्चार सम्पर्कमा ठूलो क्षति पुगेको अवस्थामा प्रभावित समुदायसम्म पहुँच पुनःस्थापित गर्न र उनीहरूलाई पुनःजोड्न सरकारका तत्कालीन प्रयासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।