काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार ५८ जिल्लाका ५१२ स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका अधिवेशनअन्तर्गत ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
समितिले बाँकी २४१ पालिकामा बिहीबार र शुक्रबार पनि अधिवेशन जारी रहने जनाएको छ ।
बिहीबारदेखि भारी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै समितिले निर्वाचन अधिकृतहरूलाई आफू मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका कार्यक्रम अनुकूल समय मिलाएर सञ्चालन गर्न निर्देशन दिएको छ ।






